काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेको प्रस्ताव उपाध्यक्ष वामदेव गौतमले अस्वीकार गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ ओली गौतमको डिनर मिटिङ भएको थियो ।
मिटिङमा ओलीले आफूलाई साथ दिन गौतमसँग आग्रह गरेका थिए । जवाफमा गौतमले गत फागुन २८ गते भएका अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरेका थिए । तर, ओलीले निर्णय फिर्ता लिन नसक्ने बताएपछि गौतम डिनर चल्दै गर्दा ‘म तपाईंसँग आउन पनि सक्दिन’ भनेर बालुवाटारबाट बिदा भएको खुलेको छ ।
शुक्रबार बिहान गौतमको सचिवालयले प्रेस नोट जारी गर्दै भनेको छ ‘हिजो ९ गते क। केपीसँग बेलुकी ८ वजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो। उहॉले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो। मैले गत फागुन २८ गते तपाइले गर्नु भएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरें। उहाँले ती निर्णय फिर्ता हुदैनन् भन्नुभयो। त्यसो भए म तपाईंसँग आउन पनि सक्दिन भनेर जवाफ दिए।
डिनर चल्दै थियो नमस्कार गरेर म विदाँ भए ।’ मिटिङमा कानूनमन्त्री लीलानाथ श्रेष्ठ र एमाले प्रमुख सचेतक विशाल भट्टराई पनि सहभागी थिए । बिहीबार दिउँसो नेता माधवकुमार नेपालसँग पनि ओलीले वार्ता गरेका थिए तर, नेपालसँग कुरा नमिलेपछि ओलीले गौतमलाई बालुवाटार बोलाएका थिए ।
गौतमले तत्कालीन नेकपा ओली-प्रचण्ड नेपाल समूहमा विभाजित हुँदा नेकपा राष्ट्रिय एकता अभियान चलाएका थिए । सर्वोच्च अदालतले एकिकृत नेकपालाई खारेज गर्दै नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएपछि गौतमले एमाले राष्ट्रिय एकता अभियान अगाडि बढाएका छन् ।








