हेटौंडा । मकवानपुरमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण दर बढेपछि नियन्त्रणका लागी आज (आइतबार)बाट सवारी साधनमा जोरविजोर प्रणाली लागु गरिएको छ ।
कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को शुक्रबार बसेको बैठकले सवारीको चाप घटाउन र कोरोना संक्रमण फैलिन नदिन जोरविजोर प्रणाली लागू गरेको हो । आज (आइतबार)बाट निजी सवारी साधन, अटो, ईरिक्सा, मयुरी, म्याजिक र टेम्पोलाई जोरविजोर प्रणालीमा सञ्चालन ल्याइनेछ । साथै मकवानपुरमा बैशाख मसान्तसम्म प्यार्टी प्यालेस, शैक्षिक संस्था, वनभोज खाने पार्कहरु समेत बन्द हुनेछन् ।
यस्तै सार्वजानिक स्थलमा मास्क नलगाउनेलाई संक्रमण रोग ऐन, २०३० बमोजिम कारवाही हुने निर्णय समेत भएको छ । बैठकले सहायक प्रुमख जिल्ला अधिकारीको संयोजकत्वमा अनुगमन समिति गठन गरी शुक्रबारबाटै अनुगमन समेत सुरु गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिएका छन् ।
प्रमुख जिल्ला अधिकारी पाण्डेले मास्क लगाउन, दुरी कायम राख्न र स्वास्थ्य सतर्कता अपनाउन सम्पूर्ण मकवानपुरबासीलाई आग्रह समेत गरेका छन् ।








