चितवन । अखिल नेपाल शिक्षक संगठन जिल्ला समिति चितवनले बिहीबार विज्ञप्ति जारी गर्दै बालकुमारी मा. वि.नारायणगढमा विगत केही वर्षअघिदेखि अनावश्यकरुपमा राजनीतिक चलखेल र अनियमितताजस्ता क्रियाकलाप देखिँदै आएको भन्दै गम्भीर ध्यानाकर्षण जनाएको छ ।
संगठनका अध्यक्ष हीरामणि चापागाईंद्वारा जारी विज्ञप्तिमा विद्यालयमा आर्थिक अनियमितता तथा अराजक क्रियाकलाप भएका कुरा विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएको, प्रधानाध्यापकको कार्यशैलीप्रति असन्तुष्टि देखाउँदै र विद्यालयमा भ्रष्टाचार भएको कारण दर्शाउँदै विद्यालय व्यवस्थापन समितिका अध्यक्षले हालै राजीनामा दिनुपरेको, वैशाखमा बसेको विद्यालय व्यवस्थापन समितिको बैठकको माइन्युट प्रधानाध्यापकले च्यातेको आरोप लगाइएको छ ।
यस्तै, निजी स्रोतका शिक्षक कर्मचारीको तलब १४ महिनासम्म भुक्तान नगरेको, राजनीतिक आस्थाका आधारमा शिक्षकहरुमाथि भेदभाव, निलम्बन र मानसिक तनाव दिने गरिएको, विद्यालयको शैक्षिक गुणस्तर र विद्यार्थी संख्या घट्दै गएको, बजारमा क्षेत्रमा रहेको विद्यालयको भौतिक स्रोतसाधनको उचित सदुपयोग हुन नसकेको, निजी स्रोतका शिक्षकलाई निलम्बन गरी शिक्षकको पेसागत हनन गरेकोजस्ता विषयमा सत्यतथ्य प्रतिवेदन र सर्वदलीय छानबिन आयोग गठन गरिनुपर्ने माग विज्ञप्तिमा उल्लेख गरिएको छ ।









