नुवाकोट । नुवाकोटको मैथली तालिम केन्द्रको बिदुरतर्फको खोल्सामा रहेको पुलमा बाढीले क्षति पुगेसँगै यातायात ठप्प भएको छ । नुवाकोटको बट्टारबाट बिदुर जाने सडक बन्द हुँदा बट्टारबाट जिल्ला सदरमुकामसहित विभिन्न पालिका र रसुवा जाने गाडी बट्टारमा नै रोकिएका छन् ।
गएराति ९ बजेतिर पुलको जगमा क्षति पुगेसँगै सडक पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जानकारी जनाएको छ । पुल भासिएसँगै सडकको दुवैतर्फ आवतजावत बन्द भएको छ ।
पैदलयात्रुलाई समेत आउजाउ गर्न कठिन भएको छ । सडक खुलाउने प्रयास भइरहेको डिभिजन सडक कार्यालयका प्रमुखसमेत रहेका ‘गल्छी–त्रिशूली–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाका प्रमुख नारायणदत्त भण्डारीले जानकारी दिनुभयो ।








