चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञाको समय साउन २४ गतेसम्म लम्ब्याएको छ । कोरोना भाइरसको सङ्क्रमण उच्च रहेका कारण जिल्लामा गत वैशाख १६ गते राति १२ बजेदेखि निषेधाज्ञा लागू गरिएको थियो । यसअघि प्रशासनले पछिल्लो समयमा जारी गरेको निषेधाज्ञा आज राति १२ बजे सकिदैँछ ।
जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसीएमसी)को सिफारिसमा प्रमुख जिल्ला अधिकारीले आज आदेश जारी गर्दै जिल्लामा निषेधाज्ञा थप गरेका छन् । साउन २४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए । क्याम्पसले लिने परीक्षा तथा कक्षा ११ तथा १२ परीक्षामा पूर्णरुपमा स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने, परीक्षा सञ्चालन गर्दा एउटा कोठामा २५ भन्दा बढी परीक्षार्थी राख्न नपाइने, एउटा बेञ्चमा एक विद्यार्थी मात्रै राख्नुपर्ने, विद्यार्थीको भौतिक दूरी कायम गराउनुपर्ने, तथा कोभिड सङ्क्रमित विद्यार्थीलाई परीक्षा शुरु भएको ३० मिनेटपछि मात्रै परीक्षामा सहभागी गराउनुपर्ने र ३० मिनेटपछि मात्रै परीक्षार्थीलाई कोठाबाट बाहिर निस्कन दिनुपर्ने आदेशमा भानिएको छ ।
पहिलेको भन्दा पसल सञ्चालनमा केही खुकुलो गरिएको छ । चितवनबाट छुट्ने मध्यम तथा लामो दुरीका सार्वजनिक सवारी साधनको हकमा जोरबिजोर तरिकाले चल्न पाउने व्यवस्था गरिएको प्रशासनले जनाएको छ । संचालनको लागि सम्बन्धित यातायात व्यवसायी संघको सिफारिस एवं ट्राफिक प्रहरी कार्यालयको समन्वय हुनुपर्ने प्रशासनले जनाएको छ ।









