चितवन । चितवनको कालिका नगरपालिकाको बेरुजु सबै भन्दा कम देखिएको छ । महालेखा परीक्षकको कार्यलयले सार्वजनिक गरेको २०७६÷७७ को लेखा परीक्षणमा जिल्लाका सात स्थानीय तह मध्ये कालिकाको सबै भन्दा कम देखिएको हो । त्यस्तै बागमती प्रदेशको ११९ स्थानीय तहमध्ये कम बेरूजु हुने स्थानीय तहको श्रेणीमा कालिका चौथो हुन सफल भएको छ ।
नेपालको ७५३ स्थानीय तह मध्य कम बेरूजु आउने २५ स्थानीय तह भित्र कालिका नगरपालिका पर्न सफल भएको लेखा अधिकृत ऋषिप्रसाद कडुवालले जानकारी दिए । सो आर्थिक बर्षमा कालिका नगरपालिकाको बेरुजु ०.६५ प्रतिशत मात्र रहेको छ । बेरुजु रकम घटाउदै लाने प्रयासमा रहेको कालिका नगरपालिकाका मेयर खुमनारायण श्रेष्ठले बताए ।
चितवनको सबैभन्दा बढी बेरुजु हुनेमा इच्छाकामना गाँउपालिका परेको छ । इच्छाकामनाको बेरुजु ३.४७ प्रतिशत रहेको महालेखा परिक्षकको बार्षिक प्रतिवेदनमा उल्लेख रहेको छ । भरतपुर महानगरको बैरुजु २.०२, रत्ननगर नगरपालिकाको २.२८, राप्ती नगरपालिकाको०.९१, खैरहनी नगरपालिकाको १.९५ र माडी नगरपालिकाको बेरुजु ३ प्रतिशत रहेको महालेखाले जनाएको छ ।








