हेटौंडा । मकवानपुर प्रहरीले अवैध लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको थाहानगरपालिका वडा नम्वर ३ दोबाटोस्थित सडकखण्डबाट १०४ किलो लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका वडा नम्वर ८, बुढिचौर बस्ने ४१ वर्षीय अम्बरबहादुर घिसिङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक रिमालका अनुसार, मंगलबार थाहानगरपालिका–३ दोबोटास्थित सडकखण्डमा डाँडाखर्कबाट शिखरकोट तर्फजाँदै गरेको ना ७ ख ७६६४ नं. को मिनि ट्रकलाई रोकि चेकजाँच गर्दा आलुको बोरा लोड रहेको बिचभागमा लुकाई छिपाई ल्याएको उक्त परिणामको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरेको हो ।
पक्राउ परेका घिसिङ ट्रकका चालक रहेको प्रहरी नायव उपरीक्षक रिमालले बताए । गाँजा र ट्रकसहित पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको मकवानपुर प्रहरीले जनाएको छ ।








