हेटौंडा । मकवानपुर प्रहरीले अवैध काठसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले भीमफेदी गाउँपालिका वडा नम्वर २ भैंसेबाट ३५ क्युफिट काठसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक जुगल गाउँपालिका वडा नम्वर २ बस्ने २८ वर्षीय सुमन लामा र साही ठाउँ बस्ने २९ को सुवाष गोले रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक (प्रवक्ता) जयश्वर रिमालका अनुसार, उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी भैंसबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
आज (बिहिबार) बिहान ९ :३० बजेको समयमा हेटौंडाबाट भैंसेतर्फ जाँदै गरेका बा ९ च ५९१२ नं. को पिकअप गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा लुकाई छिपाई ल्याएको उक्त परिणामको काठ बरामद भएपछि निजहरुलाई पक्राउ गरेको प्रवक्ता रिमालले बताए ।
उक्त काठ र गाडीसहित पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।








