काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माधवकुमार नेपालको पार्टी नेकपा (एकीकृत समाजवादी) बनाउन आफ्नो ठूलो भूमिका रहेको बताएका छन् । ‘केपी ओलीलाई हामीले एक्सपोज गर्यौं । माधव र झलनाथको पार्टी बन्यो ।
पार्टी बनाउनमा कम मेहनत चाहिँ हाम्रो पनि थिएन,’ वाईसीएलको पाँचखाल नगर सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘उहाँहरूसँग सहकार्य बढाउनुहोला । मोहन वैद्य किरण, विप्लवसँग, बाबुरामसँग हार्दिकता बढाउनुहोला । हामी केन्द्रमा सहकार्य बढाउँदैछौं ।’ प्रचण्डले एमालेमा फर्किएका भीम रावलहरूप्रति दया लागेको बताए ।
उनीहरू ढिलोचाँडो माधव नेपालको पार्टीमा फर्किने उनको भनाइ थियो । ‘केपीसँग आत्पसमर्पण गरेका साथी देख्दा दया लाग्छ । ढिलोचाँडो निस्किन्छन् । बस्ने अवस्था नै छ । राजनीतिक रूपबाट होइन ओलीले गरेको कुकर्मका कारण बस्न मिल्ने अवस्था हुने छैन,’ उनले भने ।








