फाइल फोटो
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सडक, खानेपानी विभागलगायतका निकायका कारण अन्डर ग्राउन्ड केवल बिछ्याउने कामले गति लिन नसकेको स्पष्ट पारेको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले अन्डर ग्राउन्ड केवल बिछ्याउने काममा सडक विभाग, खानेपानी विभागलगायतका कारण समस्या खडा भएको उल्लेख गर्दै समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पहल गरिरहेको पनि जानकारी दिए ।
उनले ती समस्या समाधान गरेर मुलुकमा सूचना प्रविधि क्षेत्रको विकासमा आवश्यक सहयोग पुर्याउन प्राधिकरण प्रतिवद्ध रहेको पनि बताए । मंगलबार काठमाडौंमा आयोजित ‘नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चुनौती’ विषयक कार्यक्रममा उनले नेपालको सूचना प्रविधि क्षेत्रको विकासमा प्राधिकरणले महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबीसमेत गरे ।
उनले करिव ९५ प्रतिशत नेपालीको घरमा विद्युतीकरण भइसकेको उल्लेख गर्दै त्यसले पनि सूचना प्रविधिको विकासमा उल्लेखनीय योगदान पुर्याएको स्मरण गराए । प्रबन्ध निर्देशक घिसिङले भने, ‘अन्डर ग्राउन्ड केवल बिछ्याउने काममा सडक विभाग, खानेपानी विभागलगायतका निकायले समस्या खडा गरिरहेका छन् र ती समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पहल गरिरहेको छ ।
ती समस्या हामी छिट्टै समाधान गरेर अघि बढ्नेछौं । प्रत्येक नेपालीको घरघरमा, गाउँगाउँमा अहिले करिव करिव ९५ प्रतिशत विद्युतीकरण भइसकेको छ । यसबाट हरेक घरमा हाम्रो पोल पुगेको छ ।’ प्रबन्ध निर्देशक घिसिङले नेपाल विद्युत् प्राधिकरणले कन्जुमरहरूबाट बार्षिक करिव ७० अर्ब आयआर्जन गरिरहेको जानकारी पनि दिए ।








