काठमाडौं । कोलकाता नाइट राइडर्स ईन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । सारजाहमा सोमबार राति भएको एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंगलोरलाई ४ विकेटले पराजित गर्दै कोलकाता क्वालिफायरमा पुगेको हो । बैंगलोरले दिएको १ सय ३९ रनको लक्ष्य कोलकाताले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।
कोलकाताको जितमा सुबमन गिलले सर्वाधिक २९ रन जोड्दा सुनिल नारिन र भेन्कातेस अइएरले समान २६, नितिस रानाले २३ तथा दिनेश कार्तिकले १० रन बनाए । बैंगलोरका हर्सल पटेल, मोहमद सिराज र युजभेन्द्र चाहलले २÷२ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३८ रन जोडेको थियो । बैंगलोरका कप्तान विराट कोहलीले ३९ रन जोडे ।
देबदुत पडिकलले २१ रन जोड्दा ग्लेन म्याक्सवेलले १५ रन बनाए । साहबाज अहमेदले १३ रन जोडे भने एबी डी भिलियर्स ११ रनमा आउट भए । कोलकाताका सुनिल नारिनले ४ विकेट लिए । लक्की फर्गुसनले २ विकेट लिए । अब कोलकाताले दोस्रो क्वालिफायरमा दिल्ली क्यापिटल्ससँग प्रतिस्पर्धा गर्नेछ । यस खेलको विजेता फाइनलमा प्रवेश गर्नेछ । बैंगलोर भने प्रतियोगिताबाट बाहिरिएको छ ।








