काठमाडौँ । आइसिसी टि२० विश्वकप २०२१ अन्तर्गत सुपर १२ को समूह ए को पहिलो खेलमा दक्षिण अफ्रिकाले अष्ट्रेलियालाई जितको लागि सामान्य रनको लक्ष्य प्रस्तुत गरेको छ । युएईको शेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रन बनाएको हो ।
दक्षिण अफ्रिकाका लागि एडेन माक्ररमले सर्वाधिक ४० रन बनाए । त्यस्तै, डेविड मिलरले १६ रन, हेनरिक क्लासेनले १३ रन तथा कप्तान टेम्बा बभुमाले १२ रन जोडे । तीब्र गतिका बलर कागिसो रबाडा भने २० रन बनाएर अविजित रहे । अन्य व्याट्सम्यान चल्न सकेनन् । दक्षिण अफ्रिकालाई सस्तैमा रोक्न अष्ट्रेलियाका मिचेल स्टार्कले सर्वाधिक ३ विकेट लिए ।
जोश हेजलवुड र एडम जाम्पाले समान २/२ विकेट लिए भने उपकप्तान प्याट कमिन्स र ग्लेन म्याक्सवेलको नाममा समान एकएक विकेट रह्यो । सुपर १२ को समूह ए मा अष्ट्रेलियासँगै इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज, समूह बी को उपविजेता बंगलादेश र समूह ए को विजेता श्रीलंका छन् ।








