काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिँदा रियल मड्रिडले जित हात पारेको छ । शनिबार राति भएको खेलमा बार्सिलोनाले पहिलो हाफमै ३ गोलको अग्रता लियो । दोस्रो हाफमा ३ गोल व्यहोर्दै बराबरीमा चित्त बुझाउन बाध्य भएको थियो । सेल्टा भिगोको मैदानमा सुरुवाती ३ गोल भए पनि बार्सिलोना अन्तिम समय ३–३ को बराबरी खेल्दै अंक बाँड्न बाध्य भयो ।
बार्सिलोनाका लागि अन्सु फाती, सर्जियो बुस्केट र मेम्फिस डिपाएले एक–एक गोल गरे । सेल्टा भिगोको लागि लागो आसपासले दुई तथा नोलिटोले एक गोल गरे । जोडी अल्वाको पासमा फातीले पाँचौं मिनेटमा गोल गर्दै अग्रता दिलाए । कप्तान सर्जियो बुस्केटले १८ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । ३४औँ मिनेटमा मेम्फिस डिपाएले गोल गर्दै पहिलो हाफमा ३–० को अग्रता दिलाए ।
दोस्रो हाफमा घरेलु टोली सेल्टाले लगातार तीन गोल गर्यो । बराबरीपछि बार्सिलोना १७ अंकसहित नवौँ स्थानमा छ । सेल्टाभिगो १५औँ स्थानमा छ । शनिबार राति नै भएको खेलमा शीर्ष स्थानको रियलले रायो भालेकानोलाई २(१ गोल अन्तरले पराजित गरेको छ । घरेलु मैदानमा रियललाई जिताउन टोनि क्रूस र करिम बेन्जेमाले एक(एक गोल गरे ।
भालेकानोको लागि राडामेल फाल्काओले सान्त्वना गोल गरे । जितसँगै रियल १२ खेलबाट २७ अंकसहित शीर्ष स्थानमा छ । १३ खेलबाट २० अंकसहित भालेकानो छैटौँ स्थानमा रह्यो ।








