काठमाडौं । च्यासल युथ क्लबले सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ । शनिबार भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै च्यासलले पहिलो जित दर्ता गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा च्यासललाई जित दिलाउन रुमेश बर्तौलाले निर्णायक गोल गरे । पहिलो हाफ बराबरी भएको खेलमा रुमेशले दोस्रो हाफमा गोल गरेपछि च्यासल विजयी भयो । दुबै टिमले पाएका राम्रा अवसरहरुको सदुपयोग गर्न सकेनन् । यस जितसँगै च्यासलले दुई खेलमा ३ अंक जोडेको छ । च्यासल लिगको सातौं स्थानमा उक्लिएको छ ।
च्यासल पहिलो खेलमा थ्री स्टारसँग ३–० ले पराजित भएको थियो । एपीएफको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा एपीएफ ब्रिगेड ब्वाइज क्लबसँग ३–२ गोल अन्तरले पराजित भएको थियो । एपीएफ २ खेलमा अंक विहीन रहदै पुछारमा रहेको छ ।








