चितवन । ६ महिनादेखि चितवनका उपभोक्ताले सहुलियत मूल्यको चिनी पाएका छैनन् । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड चितवनमा यतिबेला एक दाना पनि चिनी छैन । साल्ट ट्रेडिङ चितवन पुगेका उपभोक्ताहरु फिनिनिनि हुँदै रित्तो हात घर फर्कन बाध्य भएका छन् । सहुलियतको चिनी नहुँदा उपभोक्ताले बजारमा चर्को मूल्यमा चिनी खरिद गर्न बाध्य भएका छन् ।
यतिबेला प्रतिकिलो चिनीको बजार मूल्य १०० रुपैयाँ कायम भएको छ । साल्ट ट्रेडिङ चितवनका प्रमुख बुद्धिविनोद दाहालले साउनदेखि यता साल्ट ट्रेडिङमा एक दाना पनि चिनी नभएको बताए । उनले भने, ‘सरकारले टेण्डर आह्वान गरेर चिनी खरिद गर्न सकेको छैन, अनि कताबाट चिनी आउनू । दसैँमा पनि पाएनन् । हालसम्म उपभोक्ताको रित्तो हात छ ।’
उनले चिनी कहिले आउने कुनै ग्यारेन्टी नभएको बताए । उनले भने, ‘जहिले आउँछ, त्यही दिनदेखि उपभोक्तालाई दिने हो, नआउँदासम्म केही भन्न सकिएन ।’








