चितवन । केही दिनयता तिव्र गतिमा कोरोना संक्रमण बढ्दै गएपछि भरतपुर विमानस्थलले कडाइ गरेको छ । कोभिड–१९ नयाँ भेरियन्ट ओमिक्रोनको त्राससंगै कोरोन संक्रमण बढेपछि विमानस्थलले स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरेको हो ।
विमानस्थलका सूचना अधिकारी दिपक बिकले यात्रुलाई स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिएको बताए। उनले भने, “संक्रमणको अघिल्लो अवस्थामा स्वास्थ्य मापदण्ड पुराना जे थिए तिनै नियम कडाइका साथ पालना गर्नुपर्छ । संक्रमणको अवस्थामा विमानस्थलमा स्वास्थ्य मापदण्ड पालना भए नभएको चेक जाँचमा कडाइ गरिएको छ ।”
विमानस्थल प्रवेशका लागि यात्रु, कर्मचारी तथा भिजिटरलाई मास्क अनिवार्य गरिएको छ । विमानस्थलमा साबुनपानीले हात धुने तथा सेनिटाइजरको व्यवस्था गरिएको छ । सामाजिक तथा भौतिक दूरी कायम राखि भीडभाड नगर्न विमानस्थल प्रशासनले आह्वान गरेको छ । सरकारले माघ ७ गतेदेखि हवाई टिकटका लागि कोरोना भाइरसविरुद्धको खोप कार्ड अनिवार्य गरेको छ ।
खोप कार्ड अनिवार्य गरेसँगै हवाई यात्रा गर्ने यात्रुको चाँप घट्ने अनुमान गरिएको छ । “नेपालमा सबै नागरीकले खोप पाइसकेको अवस्था छैन् । सरकारले हवाई यात्रामा खोपको कार्ड अनिवार्य गरेको छ, उनले भने, यो नियम लागु भएपश्चात हवाई यात्रु घट्न सक्ने सम्भावना देखिन्छ ।” अहिले नै यात्रु घट्दै गएको उनलेे बताए ।
कोभिड संक्रमण बढेसँगै हवाई यात्राको टिकट बुक गर्ने यात्रुको संख्या घट्दै गएको बुद्ध एयर भरतपुरका उप व्यवस्थापक राजन अधिकारीले बताए । उनका अनुसार यात्रु घटेसँगै केही दिनदेखि दुई वटा उडान घटाइएको छ । “केही दिन अघिको दिनका तुलनामा यात्रुको संख्या घटदै गएको छ, उनले भने, यसै कारणले गर्दा बुद्धका दुई वटा उडान घटाईएको छ ।”
एक साताअघि बुद्ध एयरमार्फत भरतपुरबाट एकतर्फी दैनिक पाँच सय भन्दा बढी यात्रु बाहिरिने गर्थे । अहिले दुबैतर्फी गरेर पनि पाँच सय हाराहारीमा मात्रै यात्रा गर्ने गरेको उनले बताए । बुद्धले अहिले भरतपुर–काठमाडौ ७ वटा उडान भरिरहेको छ भने भरतपुर–भैरहवा र भरतपुर–पोखरा दैनिक एक-एक वटा उडान भरिरहेको छ । यता गुण एयरले पनि उडानमा स्वास्थ्य मापदण्डका नियम पालना अनिवार्य गरेको छ ।
गुण एयर भरतपुरका स्टेशन इन्चार्ज कुलराज शर्माका अनुसार मास्क र सनिटाइजर अनिवार्य गरिएको छ। “हामीले मास्क र सेनिटाइजर अनिवार्य गरेका छौं । यात्रु मास्क बिनै आए हामीले नै मास्क वितरण गर्छौं, उनले भने, यात्रुका व्याग, काउन्टर, वोर्डिङ पास हुँदा, उडान र अवतरण गर्दा सेनिटाइजरको व्यवस्था गरीएको छ ।’ केही दिन भित्रै फेस सिल्डको व्यवस्था गरिने उनले बताए ।
गुणले भरतपुरबाट काठमाडौंका लागी दैनिक तीन वटा उडान भर्दै आएको छ । अहिले गुणबाट भरतपुरमा दैनिक एक सय ५० यात्रु उडान र अवतरण गर्दै आएका छन् ।








