चितवन । चितवन राष्ट्रिय निकुञ्जभित्र बन्यजन्तुको चोरीशिकार नियन्त्रणका लागि सिसिटिभी जडान गर्न भूमिगत फाइबर बिछ्याउन सुरु भएको छ । विश्व बन्यजन्तु कोष नेपालको आर्थिक सहयोगमा निकुञ्जभित्र सिसिटिभीका लागि अप्टिकल फाइबर बिछ्याउने क्रम जारी रहेको हो ।
हालसम्म सौराहादेखि कसरा खण्डमा फाइबर तार बिछ्याइ सकिएको र कसरादेखि पश्चिम बनकट्टा तथा टाइगर टप्स खण्डमा भूमिगत फाइबर बिछ्याउने क्रम जारी रहेको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिनुभयो । फाइबर बिछ्याइ सकिएपश्चात ठाउँठाउँमा सिसिटिभी क्यामेरा र स्पाई क्यामेरा जडान गरिने घिमिरेको भनाई छ ।
यसबाट बन्यजन्तुहरुको चोरी शिकार नियन्त्रणसंगै निकुञ्जभित्र हुने अवान्छित क्रियाकलाप रोकथाम हुने, सुबिधाप्राप्त बाटोमा गाडीहरुको स्पीड थाहा हुने र संरक्षणमा सुचना प्रविधिको प्रयोग बढ्ने उहाँले बताउनुभयो ।








