चितवन । दुर्लभ एक सिंगे गैंडाको संख्या वढ्दै जाँदा जुधेर र दलदलमा फसेर मर्ने संख्या उच्च हुँदै गएको छ । ठूलो संख्यामा गैंडा एकै ठाउँमा हुँदा उचित बासस्थानको अभाबमा प्राकृतिक कारणबाट मर्ने संख्या वढि भएको अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा हाल सम्म २५ वटा गैंडा प्राकृतिक कारणले मरेका छन् । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार मरेकाहरु मध्ये ७ वटा जुधेर मरेका हुन भने ६ वटा दलदलमा फसेर मरेका हुन् ।
यो अबधिमा तेस्रो धेरै ४ वटा बाघको आक्रमणबाट, २ वटा बाढिले बगाएर, २ वटा बूढो भएर मरेका छन् । २ वटाको कारण खुल्न सकेको छैन भने एउटा बच्चा माउबाट छुट्टिएर र एउटा खाडलमा परेर मरेका छन् । यसै अबधिमा २ वटा चोरी शिकारीबाट मरेका छन् । तिवारीका अनुसार पछिल्ला वर्षहरुमा जुधेर मर्ने गैंडाको संख्या वढ्दै गएको छ । पछिल्लो गणना अनुसार यस निकुञ्जमा ६ सय ९२ वटा गैंडा रहेका छन् । संख्या वढ्दै जाँदा घाँसे मैदान र पानीका स्रोतहरु बढेको पाइदैन ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार निकुञ्जको पश्चिमी क्षेत्रमा गैंडाको संख्या बढी रहेको छ । एकीन तथ्याङ्क नभए पनि ७० प्रतिशत हाराहारी गैंडा मुख्य कार्यालय कसराबाट पश्चिमी क्षेत्रमा रहेको उहाँको भनाई छ । प्राकृतिक कारणबाट हुने मृत्यु दर घटाउन पश्चिमको गैंडा पूर्ब स्थानान्तरण गर्नु पर्ने, नमुना घाँसे मैदानहरुको व्यवस्थापन गर्नु पर्ने र पानीका स्रोतहरु बढाउनुपर्ने प्रस्ताब निकुञ्जको रहेको उहाँले जानकारी दिनुभयो ।
वन तथा वातावरण मन्त्रालय र राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागका अधिकारीहरु गैंडा आन्तरिक स्थानान्तरण र घाँसेमैदान व्यवस्थापन गर्नुपर्ने कुरामा सकारात्मक रहेका छन् । यी काम गर्न सकेमा जुधेर र दलदलमा फसेर मर्ने संख्या घटाउन सकिने आचार्यको भनाई छ । गैंडा एकै ठाउँमा धेरै हुँदा एक आपसमा जुध्ने र कम्जोर भाग्दै जाँदा दलदलमा फसेर मर्ने गरेको पाईएको छ । बाघले लखेट्दा भाग्दै गरेका गैंडाका बच्चा दलदलमा फसेर मर्ने गरेका छन् । बिचरण र बितरण समानुपातीक भयो भने घनत्व कम हुने भन्दै आचार्यले यसबाट प्राकृतिक मृत्यु घटाउन सकिने बताउनुभयो । दुर्लभ एक सिंगे गैंडाका लागि चितवन राम्रो मानिन्छ ।
यस निकुञ्ज भित्र ८ हजार ९ सय ९५ दशमलब २ हेक्टर घाँसे मैदान रहेको छ । ती क्षेत्रलाई नियमित व्यवस्थापन गर्नु पर्ने हुन्छ । बजेटको अभाबमा न्यून क्षेत्रमात्र व्यवस्थित गर्ने गरिएको छ । पानीका स्रोतहरुको नियमित सरसफाई र व्यवस्थापन समेत बजेटका अभाबमा कम मात्र हुने गरेको छ ।








