फाइल फोटो
काठमाडौं । आगामी वैशाख ३० गतेको स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगर पालिकाको सिट बाँडफाँटमा सत्ता गठबन्धनलाई सकस परेको छ । सोमबार दिनभर बस्दा सहमति हुन नसकेपछि आज दिउँसो तीन बजेदेखि गठबन्धनको बैठक बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको थियो ।
सिट बाँडफाँटका विषयमा निष्कर्षको नजिक पुगेको सरकारका प्रवक्तासमेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । ‘बैठकमा हरेक कोणबाट विचारहरु आएका छन् सबै सकारत्मक रुपले अघि बढेका छन्’ उनले भने, ‘बैठक जारी छ । छलफल सकारात्मक रुपले अघि बढिरहेको छ ।
हामी निष्कर्षको चरणमा प्रवेश गरेका छौं, अहिले बैठक जारी छ । ‘ आफूहरु ६ वटा महानगरपालिका र ११ उपमहानगरको विषयमा समग्रमा छलफल गरिरहेको उनले बताए । ‘हामीले समग्रमा ६ वटा महानगरपालिका र ११ उपमहानगरको विषयमा छलफल गरेका छौं र अन्तिम निर्णयमा सकारात्मक रुपमा पुग्न लागेका छौं ।’








