चितवन । भरतपुर महानगरपालिकाको मेयरमा दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता नलिएसंगै कांग्रेस नेता जगन्नाथ पौडेलसहित उनका प्रस्तावक र समर्थक कांग्रेसबाट स्वतः निष्कासित भएका छन् ।
शुक्रवार साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ताका लागि समय थियो । तर निर्धारित समयमा पौडेलले उम्मेदवारी फिर्ता लिएनन् । पार्टी विधानको दफा ४ को १३ को ग अनुसार पौडेलसहित प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मीना खरेल कांग्रेसबाट स्वतः निष्कासित भएका हुन् । भरतपुर महानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका पौडेल राष्ट्रियसभाका पूर्वसदस्य हुन् भने उनका प्रस्तावक सापकोटा कांग्रेस चितवनका पूर्व सभापति । समर्थक खरेल महासमिति सदस्य हुन् ।
पार्टीले शुक्रवार एक विज्ञप्ति जारी गरेर ५ बजेभित्र उम्मेदवारी फिर्ता नलिने स्वतन्त्र उम्मेदवारहरु साधारण सदस्यसमेत नरहने गरी निष्कासन हुने चेतावनी दिएको थियो ।









