चितवन । मुग्लिन–नारायणगढ सडक स्थित चौधकिलोमा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । भरतपुर महानगरपालिका वडा नं.२९ स्थित चौधकिलो भन्ने स्थानमा आज बिहान करिब पौने १० बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको ना १ ज ४९५७ नम्बरको माइक्रोबस (म्याजिक भ्यान) विपरित दिशाबाट आइरहेको प्रदेश २–०३–००१ ख ०७०६ नम्बरको ट्रकसँग ठोक्किँदा भ्यानमा सवार यात्रु घाइते भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक श्रीराम भण्डारीका अनुसार १७ जनामध्ये ११ जनाको भरतपुरस्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा र ६ जनाको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)मा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार म्याजिक भ्यानको टायर पङ्चर भएर ट्रकसँग ठोक्किन पुगेको हो । ट्रक चालक मकवानपुर जिल्ला वकैया गाउँपालिका वडा नं.३ बस्ने वर्ष २४ का सन्तवीर बम्जनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।








