रत्ननगर । किसानलाई व्यवसायिक बनाउदै दुधको उत्पादन बृद्धिका लागि सञ्चालित नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको स्वामित्व हस्तान्तरण गरिएको छ ।
कृषि तथा पशुपंछी विकास मन्त्रालय अन्तर्गत विकेन्द्रिकृत आयोजना अन्तर्गत चितवनमा सञ्चालित उपआयोजनाको जिल्ला स्थित पशुसेवा कार्यालय र पालिकालाई स्वामित्व हस्तान्तरण गरिएको हो । परियोजनको अबधि समापन भएपछि त्यसको स्वामित्व स्थानीय तहलाई हस्तान्तरण गरिएको परियोजनाका प्रमुख विदुरप्रसाद गौतमले जानकारी दिए । विकेन्द्रिकृत आयोजना सहयोग ईकाइ हेटौडाले बुधबार रत्ननगरमा एक कार्यक्रमको आयोजना गरि जिल्ला पशुसेवा कार्यालय सहित उपआयोजना सञ्चालन भएका पालिकालाई उपआयोजनाको स्वामित्व हस्तान्तरण गरेको छ ।
जिल्ला समन्वय समितिका सभापति नारायणप्रसाद अधिकारीको रोहबरमा उपआयोजना हस्तान्तरण गरिएको हो । कार्यक्रममा उपआयोजना सञ्चालन गरेका सहकारी र कृषक समुहका अध्यक्ष र पशुपालन फर्मका सञ्चालकहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । पशुपालक किसानलाई व्यवसायिक बनाउदै दूध उत्पादन बढाउन विश्व बैंक र नेपाल सरकारको सहकार्यमा पाँच बर्ष अघि सो आयोजना सञ्चालन गरिएको थियो । देशका पाँच प्रदेशका २८ वटा जिल्लामा २८९ वटा पालिकामा ४४७ वटा उपआयोजना सञ्चालन गरिएको थियो ।
बागमती प्रदेशको हेटौंडा स्थित कार्यालयबाट चितवन सहित ७ वटा जिल्लाका ९४ वटा पालिकामा उपआयोजना सञ्चालन गरिएको प्रमुख गौतमले जानकारी दिनुभयो । चितवनमा पाँचवटा पालिकामा ३० वटा उपआयोजना सञ्चालन गरिएको थियो । भरतपुरमा १४ वटा, रत्ननगरमा ९ वटा, खैरहनीमा ५, कालिका र माडीमा एक एक वटा उपआयोजना सञ्चालन भएका थिए । जिल्लामा दुग्ध सहकारी, बाख्रापालन कृषक समुहमा उक्ता आयोजनाले अनुदान प्रदान गरेको थियो । उपआयोजना सञ्चालनपछि दुधको विविधिकरण, उत्पादन वृद्धि र व्यवसायिक रुपमा बाख्रापालन सुरु भएको थियो ।
पाँच बर्ष अघि सुरु भएको आयोजना अन्तिम चरणमा पुगेको छ । उपआयोजना सञ्चालन भएपछि चितवनका चार वटा ठुला दुग्ध सहकारी संस्था उद्योगमा रुपान्तरण भएका छन् । रत्ननगर वडा नं ५ स्थित गौरीधारा दुग्ध उत्पादक सहकारी संस्था, वडा नं १६ स्थित पिठुवा दुग्ध उत्पादक सहकारी संस्था र भरतपुर ६ स्थित देवनगर दुग्ध उत्पादक सहकारी संस्था, वडा नं ८ स्थित गौरिगन्ज दुग्ध उत्पादक सहकारी संस्था उद्योगमा रुपान्तरण भएका हुन् ।
उक्त चारवटा सहकारीलाई आयोजनाले उद्योगको भवन निर्माण र उपकरण खरिदमा ५० प्रतिशत बजेट उपलब्ध गराएको थियो । कार्यक्रममा चितवन जिल्ला दुग्ध उत्पादक संघका अध्यक्ष किशोर बगालले परियोजनाले प्रदान गरेको अनुदानले जिल्लाका दुग्ध सहकारी उद्योमा रुपान्तरण गएको बताए ।
उद्योगमा रुपान्तरण भएका सहकारीले उत्पादन गरेका परिकारलाई देशका प्रमुख शहरहरु विक्री हुने गरि बजारिकरण गर्न आवश्यक रहेको उनको भनाई छ । जिल्ला पशु सेवा कार्यालयका प्रमुख सुशील केसीले पशुपालनलाई व्यवसायिक बनाउदै दूध उत्पादन बढाउन अनदान प्रविधिको प्रयोगलाई जो दिएको बताए।








