चितवन । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति, चितवनले भरतपुर महानगरपालिकाभित्रका निजी तथा आवासीय विद्यालयहरूले गरेको २५ देखि ५० प्रतिशतसम्मको शुल्क वृद्धिलाई ‘अवैध र नियमविपरीत’ भन्दै त्यसको खारेजी र अतिरिक्त शुल्क फिर्ताको माग गर्दै ७२ घण्टे अल्टिमेटम दिएको छ। अखिल (क्रान्तिकारी) चितवनका अध्यक्ष सुशिल कार्की ‘अब्दुल’द्वारा जारी गरिएको ज्ञापनपत्रमा भरतपुर महानगरपालिकाको कार्यपालिका निर्णयको हवाला दिँदै निजी विद्यालयहरूले मनपरी रूपमा शुल्क बढाएकोप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ।
प्याब्सन र मेट्रो कार्यसमिति, चितवनद्वारा जारी पत्रमा भरतपुर महानगरपालिकाको निर्णयलाई आधार बनाई २५ देखि ५० प्रतिशतसम्म शुल्क बढाइएको भनिएकाले उक्त निर्णयको आधिकारिक प्रतिलिपि सार्वजनिक गर्न माग गरिएको छ। नियमविपरीत शुल्क वृद्धि गर्ने, स्वीकृत दरभन्दा बढी असुल गर्ने विद्यालयहरूमाथि निष्पक्ष छानबिन गरी दोषीमाथि प्रचलित कानुनबमोजिम कारबाही गर्नुपर्ने, गैरकानूनी रूपमा असुल गरिएको अतिरिक्त शुल्क तत्काल सम्बन्धित अभिभावकलाई फिर्ता गर्ने प्रक्रिया अगाडि बढाउन र शुल्क तिर्न नसकेको कारण विद्यार्थीलाई कक्षामा प्रवेश रोक लगाउने, परीक्षाबाट वञ्चित गर्ने वा मानसिक दबाब दिनेजस्ता कार्यहरू तत्काल बन्द गर्न माग गरिएको छ ।
विद्यार्थी संगठनले महानगरपालिका र निजी विद्यालयहरूले जिम्मेवारी पन्छाउने अवस्था सिर्जना गर्न नहुने स्पष्ट पार्दै दिएको ७२ घण्टाको समयसीमाभित्र मागहरू सम्बोधन नभए चरणवद्ध रूपमा विरोध प्रदर्शन, धर्ना, घेराउसहितका सशक्त आन्दोलनका कार्यक्रमहरू घोषणा गर्न बाध्य हुने चेतावनी दिएको छ। भरतपुर महानगरपालिकाका कावा मेयर चित्रसेन अधिकारीले भने नीजि विद्यालय सञ्चालकको धम्कीपछि शुल्क बढाइएको बताएका छन् । निजी विद्यालय सञ्चालकहरुले शुल्क बृद्धि नगरे सबै विद्यालयको बस र शिक्षक कर्मचारीलाई महानगरको कार्यालयमा उतार्ने धम्की दिएपछि महानगरले शुल्क बृद्धि गरेको हो । सरकारले कर्मचारीहरुको तलब २१ प्रतिशतले बढाएकाले नीजि विद्यालयका शिक्षक कर्मचारीको पनि तलब बढाउनुपर्ने भएको भन्दै नीजि विद्यालयलाई शुल्क बढाउन महानगरले अनुमति दिएको हो ।








