हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१३ नम्बर वडामा विभिन्न पार्टी परित्याग गरी ६३ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । बिहीबार वडामा भएको टोल समिति गठन कार्यक्रमका बीच नेपाल कम्युनिष्ट पार्टीका देवीसिंह मोक्तानसहित विभिन्न पार्टी परित्याग गरी ६३ जना कांग्रेसमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई नेपाली कांग्रेस मकवानपुरका कार्यबाहक सभापति बिष्णु लामिछानेलगायतका नेताहरुले कांग्रेसको सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका छन् । उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि लामिछानेले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका कारण मुलुक गम्भीर संकटमा पुगेको बताए । भ्रष्टाचार र भागबन्डामा कुरा नमिलेर अहिले नेकपा फुटको अवस्थामा पुगेको उनको आरोप थियो ।
कांग्रेस वडा सभापति चम्फुरत्न लामाको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस मकवानपुर सचिव बुद्ध लामा, जिल्ला सदस्य राजिव सुवेदी, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, क्षेत्रीय सभापति तारानाथ चौलागाइँलगायतले संसद् विघटनको बिरुद्धमा कांग्रेसले आन्दोलन जारी राखेकोले सहभागी हुन अनुरोध गरे ।








