हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा-९ हनुमानगेट अगाडि सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिष्वाका २० बर्षीय मोहम्मद कैस मिया रहेका छन् । उनको उपचारको क्रममा चुरेहिल अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा घाइते भएका सोही ठाउँका ३७ बर्षीय अव्जल मिया र २५ बर्षीय इसाद आलमको उपचार भइरहेको छ । हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको ना५ख २०३४ नम्बरको बसको पछाडि ना६ख ४९९५ नम्बरको ट्रकले ठक्कर दिंदा बसको डिक्कीबाट सामान झिकिरहेका उनीहरू घाइते भएका थिए । उनीहरूको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको टोलीले उद्धार गरेको थियो । प्रहरीले ट्रक र चालक नियन्त्रणमा लिएको छ ।








