हेटौँडा । मकवानपुर ट्राफिक प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका भित्र चल्ने विद्यालयको बसको अनुगमन र चेकजाँचलाई तिब्रता दिएको छ। आजबाट ट्राफिक प्रहरीले नगरभित्र चल्ने निजी तथा सामुदायिक विद्यालयका बसको अनुगमन र चेकजाँच सुरु गरिएको मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश पाण्डेले जानकारी दिए ।
कोरोनाको जोखिम कायम रहेको र क्षमता भन्दा बढी विद्यार्थी बोक्ने गरेको पाइएको र कतिपय निजि तथा सामुदायिक विद्यालयका बसले बिना कागजात नियम उल्लङ्घन गरी विद्यार्थी बोक्ने गरेकोले चेकजाँच र अनुगमनको थालनी गरेको प्रहरी निरीक्षक पाण्डेले बताए। “आज आधा दर्जन निजि विद्यालयका बसलाई चेकजाँच गर्दा एउटै सिटमा ४ जना सम्म विद्यार्थी बोकेको पाइयो,आजलाई सचेत गराएका छौ,भोली बाट नियम उल्लङ्घन गरेको पाइएमा ट्राफिक कारवाही गर्छौँ”- मकवानपुर ट्राफिक प्रमुख पाण्डेले भने।
ट्राफिक प्रहरी प्रमुख पाण्डेले विद्यार्थी ओसारपसार गर्ने भन्दैमा नियम उल्लङ्घन गर्न नमिल्ने र आज चेकजाँचका क्रममा सिट क्षमता भन्दा बढी विद्यार्थी बोकेको बसका चालक र विद्यालयका संचालकलाई नियम पालन गरी बस संचालन गर्न जानकारी गराइएको बताए।








