हेटौंडा । यही फागुन १९ गतेबाट हेटौंडा जेसीजको जेसीज सप्ताह हुने भएको छ । २२ गतेसम्म विविध सप्ताहव्यापी कार्यक्रमको आयोजना गरी जेसीज सप्ताह मनाउन लागिएको आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । १९ गते हेटौंडा माउन्टेन बाइक च्याम्पियनसिप गरी जेसीज सप्ताहको सुरुवात हुनेछ ।
वनस्खण्डीमा राष्ट्रिय खेलाडीहरुको सहभागितामा हुने प्रतियोगिताका प्रथम, द्वितीय र तृतीयले क्रमशः नगद ९ हजार, ६ हजार र ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । सोही दिन दिउँसो अम्बिकादेवी कार्की स्मृति हाजिरीजवाफ प्रतियोगिता हुनेछ । उच्च माध्यामिक तहस्तरीय प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद ९ हजार, ६ हजार र ३ हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । २० गते स्लो मोटरसाइकल चलाउने प्रतिस्पर्धा हुनेछ ।
विजयीहरुलाई पुरस्कारको व्यवस्था रहेको हेटौंडा जेसीजका अध्यक्ष लिसेन बस्नेतले जानकारी दिए । सोही दिन दिउँसो अन्तर जेसीज वक्तृत्वकला हुनेछ । २१ गते हेटौंडा–१५ स्थित चिप्लेटीमा शैक्षिक सामग्री वितरण, २२ गते बिहान रक्तदान कार्यक्रम र दिउँसो जेसीज सप्ताह समापन तथा पुरस्कार वितरण समारोह हुनेछ । जेसीज सप्ताहको मूल कार्यक्रम संयोजक पंकजदास बनियाँ रहेका छन् भने सहमूल कार्यक्रम संयोजक सुजन ढुंगाना रहेका छन् ।








