चितवन । चितवनमा अक्सिजनको अभाव हुन नदिन प्रहरी सक्रिय भएको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएको र अधिकाम्सलाई अक्सिजनको आवश्यकता परेपछि जिल्लामा अक्सिजनको माग बढेको हो ।
अक्सिजनको मागसँगै सिलिण्डरको अभाव हुन नदिन प्रहरीले विभिन्न स्थानबाट सिलिण्डर संकलनको काम गरिरहेको छ । प्रहरी विभिन्न स्थानबाट ३ सय ७० वटा सिलिण्डर संकलन गरेको छ । शुक्रबार मात्रै प्रहरीले स्थानिय प्रशासनसँगको समन्वयमा विरगन्ज र भैरहवाबाट २ सय ५७ वटा सिलिण्डर ल्याएको थियो ।
त्यस्तै आइतबार र सोमबार जिल्ला भित्रका विभिन्न स्थानबाट १ सय १३ वटा अक्सिजन सिलिण्डर संकलन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक सरोज गिरीले समावेशी खबरलाई जानकारी दिए । आज मात्रै प्रहरीले ८ वटा खाली र ८८ वटा भरी सिलिण्डर गरि ९६ वटा सिलिन्डर संकलन गरेको छ ।
जिल्लाभित्र संकलन गरिएको सिलिण्डरमध्य ५१ वटा स्वर्गद्धारी अक्सिजन ग्याँस उद्योगलाई हस्तान्तरण गरिएको र बाँकी ६२ वटा जिल्ला प्रहरी कार्यालयमा सुरक्षित राखिएको गिरीले बताए । त्यस्तै जिल्ला बाहिरबाट संकलन गरिएको सिलिण्डर अक्सिजन ग्याँस उद्योगमै राखिएको प्रहरीले जनाएको छ ।








