चितवन । प्रतिनिधि सभा विघटनको बिरोधमा चितवनका पाँच विद्यार्थी संगठनले आन्दोलन गर्ने चेतावनी दिएका छन् । पाँच विद्यार्थी संगठनले आज (सोमबार) संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनको चेतावनी दिएका छन् । विज्ञप्तिमा नेपाल विद्यार्थी संघ (नेविसंघ) चितवनका अध्यक्ष सूर्य ढकाल, अखिल क्रान्तिकारीका जिल्ला संयोजक अबिनास रम्तेल, अरेनास्वव्यूका अध्यक्ष साकार लामा, समाजवादी विद्यार्थी युनियनका अध्यक्ष अनुज जोशी र अखिल (छिटौं) का अध्यक्ष कमल आचार्यले हस्ताक्षर गरेका छन् ।
सर्वोच्च अदालत पुनःस्थापना गरेको प्रतिनिधि सभा दोस्रो पटक विघटन सरकारद्धारा सार्वभौम जनतामाथि गरिएको निरकुंश र अधिनायकवादी डकैती भएको उनीहरुको ठहर छ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर संविधानमाथि नै प्रहार गरेको पाँचै विद्यार्थी संगठनको आरोप छ। प्रधानमन्त्री र राष्ट्रपतिको मिलोमतोमा संसदीय मुल्य, मान्यता विपरित संसद विघटनले वर्तमान सरकारको असफलता प्रमाणीत भएको जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमार्फत नै उनीहरुले शशक्त आन्दोलनको कार्यक्रम गर्ने घोषणा गरेका छन् । ‘कोरोना नियन्त्रणमा ध्यान नदिएको कारण अस्पतालमा बेड, अक्सिजन र औषधिको हाहाकार मच्चिरहेको अवस्थामा मध्यवधि निर्वाचनको घोषणा देश र जनताप्रतीको गैरजिम्मेवारीको पराकाष्ठ हो भने जनताको स्वास्थ्यमाथिको गम्भीर खेलवाड हो ।
सरकारले जनतामाथि गरेको स्वास्थ्य स्वास्थ्य अपराध तथा संसद विघटनका विरुद्ध एक जुट हुँदै आ-आफ्नो ठाउँबाट प्रतिरोध गर्नका लागि शशक्त आन्दोलनका कार्यक्रमहरु अगाडि बढाउने छौं’, संयुक्त प्रेस विज्ञप्तिमा भनिएको छ । संसद विघटन तथा लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि अघि बढ्न पनि आम जनसमुदाय तथा विद्यार्थीहरुलाई विज्ञप्तिमार्फत आह्वान गरिएको छ ।








