चितवन । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई चितवनले मेसिनबाट चैते धान रोपाई सफल परीक्षण भएसँगै बर्षे धानको बीउको लागि पनि तयारी थालेको छ । किसानको लागत कम गर्न उत्पादकत्वमा बृद्धि गर्ने उद्धेश्यले प्रशिक्षण सहित ’डेमो नर्सरी’ प्रर्दशन गरिएको हो ।
बर्षे धानको बीउ लगाउने समय भईरहेका बेला निशेधाज्ञामा पनि किसानलाई ‘डेमो नर्सरी’ प्रदर्शन गरेर प्रशिक्षण दिईएको परियोजनाले जनाएको छ ।
स –साना ट्रे माथि प्लाष्टिक विच्छाएर पूर्वी चितवनका किसानहरुलाई डेमो नर्सरीको प्रशिक्षण दिईएको परियोजनाका प्रमुख मेघनाथ तिमिल्सिनाले बताए । ‘यसबाट एक त किसानको लागत कम लाग्छ उनले भने,े अर्को उत्पादकत्वमा पनि बृद्धि हुन्छ ।’ यसअघि चैते धान रोप्नको लागि परियोजनाले धान रोप्ने आधुनिक मेशीनको परिक्षण गरेको थियो । दुईवटा मेशीन हाल खैरहनी नगरपालिकाको कुमरोजको साना किसान तथा कृषि सहकारी संस्था र रत्ननगरपालिकाको बच्छ्यौलीको साना किसान सहकारी संस्थालाई अनुदानमा उपलब्ध गराईएको थियो । ‘हाम्रो खास उद्धेश्य निर्वाहमुखी खेती प्रणालीलाई विस्थापित गरी प्रविधि हस्तान्तरण गर्ने हो ।’ परियोजना इकाईका सूचना अधिकारी माधव पौडेलले भने ।
‘आजभन्दा एकसाता अघि चितवनको २ ठाउँमा केही कट्ठालाई पुग्ने मात्र नर्सरी राखेका छौ’ उनले भने, डेमो नर्सरीमा किसानहरुलाई यो प्रविधिको फाइदा र विधि सिकाएका हौं ।’ यो प्रविधिको भरपुर प्रयोग भएमा बीउ राख्दा र धान रोप्ता झण्डै आधा लागत कम हुने पौडेलले बताए । १२ दिनदेखि २० दिनसम्ममा यो बीउ रोप्नको लागि तयार हुनेछ ।
अन्य तरिकाले लगाईएको बीउ यो मेशीनले रोप्न मिल्दैन उनले भने, यो प्रविधिबाट रोपाई गर्दा गोड्न पनि सजिलो हुन्छ । एकैदिन एउटा मेशीनले ८ विघासम्म रोप्न सक्छ । साना किसान सहकारीका व्यवस्थापक रामहरी दाहालले यस क्षेत्रका किसानले डेमो नर्सरी प्रविधिको प्रशिक्षण लिएपछि आकर्षण बढेको बताए । हामीले किसानको लागत, जनशक्ति र थोरै क्षेत्रफलमा बढी उत्पाकत्व दिनलाई अभिमुखीकरण गरेका छौं उनले भने, चैते धानको सिजनमा भन्दा यो प्रविधि प्रयोग गर्ने किसान बढेका छन । शुरुवाती क्षणमा किसानमा दोधार भएपनि प्रशिक्षण र परामर्शपछि भने यस प्रविधिमा ईच्छा व्यक्त गरेको दाहालको भनाई छ ।
कुमरोजमा पनि किसानहरु यस प्रविधिको लागि अवलोकन र परामर्श लिन आउने गरेका छन । जुनसुकै बीउ र मौसममा पनि बढी उत्पादकत्व दिने भएपछि उनीहरु यस तर्फ आकर्षित भएका हुन् । कुमरोज कृषक अगुवा सूर्य बोगटी डेमो नर्सरी बनाउन जानेपछि त्यहांँका किसानहरुले यो प्रविधिबाट धानको बीउ राख्न शुरु गरेको बताए । एकैपटक सबै किसानले विश्वास गर्न गाह्रो हुन्छ , बोगटीले भने यो प्रविधि नयांँ र चितवनमै पहिलो पटक विस्तारै यसको प्रयोग गरिएको हो । विस्तारै यसको प्रयोग बढ्छ भन्ने हाम्रो अपेक्षा हो । उनका अनुसार छिमेकीले यो प्रविधिबाट नर्सरी तयार गरेपछि अन्य स्थानबाट समेत फोन आउन थालेको छ ।
चितवनमा कुल २७ हजार ४२१ दशमलव ६ हेक्टर क्षेत्रफलमा धान उत्पादन हुंँदै आएको छ । जसमध्ये १९ हजार ८सय ९३ हेक्टर क्षेत्रफलमा बर्षे धान उत्पादन हुदै आएको छ । बर्षे धानको उत्पादन ८२ हजार ६४० दशमलव ३ मेट्रिक टन हुने गरेको छ । बर्षे धानको प्रतिहेक्टर उत्पादन औषत ४ दशमलव २ मेट्रिकटन रहेको छ । हिउंँदे धान ७ हजार ५सय २७ दशमलव ९ हेक्टर क्षेत्रफलमा हुने गरेको छ । हिउंँदे धानको उत्पादन ३३ हजार ७३ दशमलव ६ मेट्रिक टन रहेको छ । हिउंँदे धानको प्रति हेक्टर उत्पादकत्व ४दशमलव ४ मेट्रिक टन रहेको छ ।








