चितवन । दुर्घटना न्यूनिकरणका लागि चितवन र मकवानपुर ट्राफिक प्रहरी कार्यालयलाई १० लाख बराबरको उपकरण हस्तान्तरण गरिएको छ । आज एक कार्यक्रमकाबीच बागमती प्रदेश प्रहरी कार्यालयको पहल तथा बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयको समन्वयमा यातायात व्यवस्था तथा भौतिक पूर्वाधार मन्त्रालय, बागमती प्रदेश, यातायात व्यवस्था सेवा कार्यालयद्वारा उक्त उपकरण हस्तान्तरण गरिएको हो ।
यातायात व्यवस्था सेवा कार्यालय, बाग्मती प्रदेशले ४ थान ब्रेथलाईजर, म्याजिक लाईट–२० थान, ह्वील लक–२० थान, फ्लोरोसेन्ट ज्याकेट–७७ थान, बेरिकेड– ४ थान बडि ओर्न क्यामेरा–२ थान, पिभिसी कोण–४० थान गरी १० लाख बराबरको उपकरण बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोईरालाज्यूलाई हस्तान्तरण गरिएको थियो ।
हस्तान्तरण कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक कोइरालाले यस्ता आधुनिक उपकरणहरूले ट्राफिकको कामकारवाहीलाई पनि प्रविधिमैत्री र सहज बनाउने कुरा बताउनुभयो । यातायात व्यवस्था सेवा कार्यालयका प्रमुख सुरज उप्रेतीले आगामी दिनमा यस प्रकारको सहयोग अझ बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । मकवानपुर र चितवन जिल्लामा मात्र १४७ कि.मि. राजमार्ग पर्दछ ।
दैनिक बढिरहेको सवारी चापको तुलनामा सडक पूर्वाधार, स्तरोन्नती नहुँदा ट्राफिक व्यवस्थापन र दुर्घटना न्यूनीकरणमा समस्या पर्दै आएको थियो । चालु आ.व.०७७, ०७८ को बैशाख मसान्तसम्म दश महिनाको अवधिमा मात्र मकवानपुरमा ५२ र चितवन जिल्लामा ११६ जनाको मृत्यू भइसकेको छ । गत आ.व. को तुलनामा मृत्यूदर घटेपनि दुर्घटना संख्या बढेको तथ्याङ्कले देखाएको छ । यद्यपि, ट्राफिक कारवाही संख्या र राजस्व गत आ.व. को तुलनामा दोब्बर भएको छ ।
दुर्घटनाको मुख्य कारणमा तिव्र गति, मा.प.से., सडक पूर्वाधार, चालकको लापरवाही देखिएको ट्राफिक प्रहरीको भनाई छ ।









