चितवन । पछिल्लो समय कोरोना भाइरस संक्रमण जनस्तरसम्म तिब्र रुपमा फैलिएको छ । यससँगै प्रत्येक वडा–वडामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि एन्टिजेन परीक्षण सुरु गरिँदै आएको छ । यसैबीच भरतपुर वडा नं. १६ को एन्टिजेन परीक्षणमा ७ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको देखिएको छ । हिजो बुधबार १६ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको वडा अध्यक्ष अमृतराज हमालले जानकारी दिए ।
‘कतिपय लक्षण देखिएका मानिसहरु समाजको डरले परीक्षण गर्न आउँदैनन्’ उनले भने, ‘कोरोना रोकथाम र नियन्त्रणका लागि घरदैलो अभियान नै संचालन गरेका छौं ।’ उनका अनुसार यो साता घरदैलो कार्यक्रम गरेकाले संक्रमित केही बढी देखिएको हो । समाजमा जनचेतनाको कमी भएकाले कोरोना रोकथाममा कठिनाइ भएको उनको बुझाइ छ ।
कोरोना महामारी अझै टरि सकेको अवस्था नभएकाले सबै वडावासी सचेत तथा स्वास्थ्य मापदण्ड पालना गर्न उनले अपिल गरेका छन् । वडामा एन्टिजेन परीक्षणका लागि ४० वटा किट ल्याइएको थियो भने अघिल्लो साताको एन्टिजेन परीक्षणमा एकजनामा संक्रमण देखिएको थियो । वडामा प्रत्येक हप्ता बुधबार एन्टिजेन परीक्षण हुँदै आएको छ ।








