काठमाडौं । दोस्रोपटक पुनर्स्थापित भएपछि प्रतिनिधिसभाको बैठक आइतबार अपरान्ह बस्दैछ । आठौँ अधिवेशनको पहिलो बैठक अपरान्ह ४ बजेका लागि बोलाइएको हो ।
बैठकको कार्यसूचि तय गर्नका बिहान १० बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । नयाँ सरकारका अर्थमन्त्री जनार्दन शर्माले अध्यादेशबाट ल्याइएको बजेट संसदमा पेश गर्ने यसअघि नै बताएका छन् ।
संघीय संसद सचिवालयले तयार पारेको सम्भावित कार्यसूचिअनुसार आइतबारको पहिलो बैठकमा अघिल्लो सरकारले ल्याएका केही विधेयकलाई प्रक्रियामा लगिने छ । ओली नेतृत्वको सरकारले १६ वटा अध्यादेश जारी गरेको थियो ।
त्यसमा बजेटसँग सम्बन्धित अध्यादेश पनि छन् । संसदमा अब नेकपा एमाले प्रमुख प्रतिपक्षका रुपमा रहने छ । संसदमा नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले संवैधानिक व्यवस्था अनुसार ३० दिन भित्र विश्वासको मत लिनु पर्ने छ । विश्वासको मत नपाएको अवस्थामा संसद विघटन भइ देश चुनावमा जाने छ ।








