पाँचथर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमालेले आफू नेतृत्वको पार्टीले अन्य पार्टीले गर्न नसक्ने काम गरेर देखाउने दाबी गर्नुभएको छ । एमालेको झुलाघाट–चिवाभञ्ज्याङ यात्रालाई महान यात्राको संज्ञा दिँदै उहाँले यात्राका बीचमा जनताका आकांक्षा बुझ्ने अवसर प्राप्त भएको बताउनुभयो । झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको आज पाँचथरको याङवरक गाउँपालिका वडा नं १ चिवाभञ्ज्याङमा समापन गर्दै उहाँले जोखिम चिर्दै, प्राविधिक, भौगोलिक तथा राजनीतिक अवरोध पार गर्दै एमाले जनताको घरसम्म पुगेको बताउनुभयो ।
“यो यात्रा जोखिम मोल्ने अभियान हो । यात्राले एमालेले अरुले गर्न नसकेको काम गर्न सक्छ भन्ने सन्देश दिएको छ”, अध्यक्ष ओलीले भन्नुभयो, “यस यात्राले अवान्छित विचार, चिन्तन र क्रियाकलापविरुद्ध सन्देश दिएको छ । सिङ्गो देशलाई सर्वोपरी राखेर, जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने सन्देश दिएको छ ।”
अभियानका क्रममा सांस्कृतिक विविधताको ग्रहण गर्ने, त्यसलाई प्रयोग र प्रवर्द्धन गर्ने काम भएको पूर्वप्रधानमन्त्री ओलीले बताउनुभयो । मध्यपहाडका सबै विषयमा जानकार हुने अवसर मिलेको भन्दै उहाँले यात्रा पूर्ण रुपमा सफल भएको दाबी गर्नुभयो । राजनीतिक हिसाबले देशको बिग्रदो अवस्थाबाट उकास्न, जनतामा फैलिएको निराशा हटाउन, आशावादी जगाउने र जनतामा जागरण पैदा गर्न अभियान सफल भएको बताउँदै अध्यक्ष ओलीले अन्य दल, सरकार र मुलुकलाई यो अभियानले प्रत्यक्ष प्रभाव पारेको बताउनुभयो ।
ओलीले स्थानीयस्तरका विशेषता, चालचलन, परिचय, आवश्यकता, समस्या र समाधानबारे जानकारी लिने, ध्यानाकर्षण हुँदा एमालेले समाजलाई झनै नजिकबाट बुझ्न सहज भएको, अभियानले एमालेको नीति र कार्यक्रमलाई जनतामा बुझाउन मद्दत मिलेको बताउनुभयो । फरक प्रसङ्गमा उहाँले देशको राजनीति अहिले अलपत्र र अलमलमा रहेको जिकीर गर्नुभयो । ओलीले जनता र देशको समय खेर फाल्न, आउँदो पिंढीलाई अन्योलमा राख्ने कामबाट चिर्न अभियानले असाधारण रुपमा सहयोग गरेको बताउनुभयो ।
एमाले अध्यक्ष ओलीले अभियानमा सामेल भएका सबै नेता, कार्यकर्ता तथा समर्थकलाई धन्यवाद ज्ञापन गर्नुभयो । उहाँले सञ्चार माध्यमले एमालेको अभियानलाई सफल बनाउन विभिन्न कोणबाट ब्याख्या र विश्लेषण गरेर सहयोग गरेकामा समेत धन्यवाद दिनुभयो । अध्यक्ष ओलीले पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गमविन्दू चिवाभञ्ज्याङमा झण्डोत्तलन गरी समृद्धिका लागि सङ्कल्प यात्रा समापन भएको घोषणा गर्नुभयो ।
एमालेको सङ्कल्प यात्रा सम्पन्न
नेकपा (एमाले) ले सञ्चालन गरेको झुलाघाट चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा आज सम्पन्न भएको छ । पाँचथरको याङवरक गाउँपालिका–१ चिवाभञ्ज्याङमा झण्डोत्तलन गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले अभियान सम्पन्न भएको घोषणा गर्नुभएको हो ।
एमालेका केन्द्रीय पदाधिकारी, स्थायी कमिटी तथा पोलिटब्यूरोका सदस्य, केन्द्रीय कमिटीका सदस्य, जनप्रतिनिधिलगायत उक्त अभियान सम्पन्न गर्न आज बिहान चिवाभञ्ज्याङ आइ पुग्नुभएको थियो । पुष्पलाल (मध्यपहाडी) राजमार्गको अन्तिम विन्दू बैतडीको झुलाघाटबाट मङ्सिर १४ गते सुरुआत भएको थियो ।
झण्डोत्तलनका अतिरिक्त अध्यक्ष ओलीले यहाँ निर्माण गरिएको यात्राको प्रतीक स्तम्भको अनावरण गर्नुभयो । उक्त कार्यक्रमका लागि आसपासको क्षेत्रबाट एमाले समर्थक तथा कार्यकर्ता उक्त स्थानमा पुगेका छन् ।








