फाइल फोटो
हेटौंडा । एफसी विजय यूथ हेटौंडाको आयोजनामा हेटौंडामा पहिलो पटक आयोजना हुन लागेको भिडोल विजय यूथ हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ । प्रतियोगितामा आयोजक एफसी विजय यूथ र मकवानपुर ११ सहित विभिन्न जिल्लाका १० टिमको सहभागिता रहेको छ । यही माघ १६ गतेबाट २३ गतेसम्म सञ्चालन हुन लागेको प्रतियोगिताको उद्घाटन खेल मकवानपुर ११ र सेन्ट्रल कलेज बीएफसी भरतपुरको बीचमा हुनेछ । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक एफसी विजय यूथका अध्यक्ष सुदिप राजबाहकले जानकारी दिए । करिब २१ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेता टिमले एकलाख ५० हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् । कोरोनाको महामारीका कारण खेलकुदका गतिविधि रोकिएको अवस्थामा फुटबलको गतिविधिलाई अघि बढाउने उद्देश्यले मिनी गोल्डकप गर्न लागेको प्रतियोगिता संयोजक राजेश भेटवालले जानकारी दिए । प्रतियोगितालाई भिडोल लुब्रिकेन्ट्सले प्रायोजन गरेको छ ।









