हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौंडामा आउँदो माघ २७,२८ र २९ गते ‘तेस्रो राष्ट्रिय बेटी सम्मेलन–२०७७’ हुने भएको छ । हेटौंडामा आज पत्रकार सम्मेलन गर्दै महिला बालबालिकाहरुको हकहित तथा लैंगिक समानता र समावेशी अधिकारका लागि आवाज उठाउँदै आएको आ.भा.सा राष्ट्रिय अभियान केन्दीय संजालकी संयोजक नजबुल खान (निलम) ले आउँदो माघ २७,२८ र २९ गते हेटौंडामा तीन दिन राष्ट्रिय सम्मेलन हुने जानकारी दिईन् ।
उनले नेपाली समाजमा अझैपनि घरेलु हिंसा,बलात्कार,बालबिवाह,बोक्सी,घुम्टो,तलाक दाईजो,छाउपडी प्रथा,देउकी,वादी प्रथा रहेको बताउँदै आफुहरु त्यस विरुद्ध लागि परेको बताईन् । उनले समाजमा हुने महिला हिंसा लगाएत विभिन्न कु प्रथा विरुद्ध र लैंगिक समानता र समावेशी अधिकारका लागि आसनमा महिला,भाषणमा महिला र शासनमा महिला भन्ने मूल नाराका साथ सन् २०१२ देखि निरन्तर अगाडी बढीरहेको बताईन् ।
उनले मिसन नोट अफ डिसेन्ट आ.भा.सा राष्ट्रिय अभियान केन्द्रीय संजाल र मुलधार महिला सेवा केन्द्र मासबेस उदयपुरको आयोजनामा २०७५ साल माघ २७ देखि २९ गते सम्म प्रदेश १ उदयपुरको गाईघाटमा ‘सहन नपरोस् हिंसा र दुर्व्याबहार : शिक्षा र स्वास्थ लाई बनाऔं चेलीबेटी सशक्तिकरणको हतियार’ भन्ने मूल नाराका साथ प्रथम राष्ट्रिय बेटी सम्मेलन सम्पन्न गरेको र २०७६ साल माघ २७ देखि २९ गतेसम्म प्रदेश २ को राजधानी जनकपुरमा ‘विकृतिका बन्घनहरु तोड्दै अघि बढौ,मेची महाकाली जोड्दै हिंसारहित समाज निर्माण गरौ भन्ने मूल नाराका साथ दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न गरेको बताईन् ।
उनले आउँदो तेस्रो राष्ट्रिय सम्मेलनमा देशभरबाट एक सय जना प्रतिनिधिमूलक सहभागिता रहने कार्यक्रममा ७५ प्रतिशत महिला र २५ प्रतिशत पुरुष रहने जानकारी दिईन् । तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले गर्ने कार्यक्रम रहेको बताईएको छ ।








