हेटौंडा। जिल्ला प्रशासन कार्यालय मकवानपुरले नागरिकता लिनका लागि निश्चित दिन तोकेको छ। राष्ट्रिय परिचयपत्रका लागि नागरिकहरुको विवरण दर्ता गर्ने अभियान सञ्चालन गरिएको हुँदा उक्त प्रयोजनका लागि जिल्ला प्रशासन कार्यालयमा नयाँ नागरिकता लिने र प्रतिलिपी निकाल्नेको भीडभाड बढेको भन्दै नागरिकता लिने प्रयोजनका लागि १० वटा स्थानीयतहलाई निश्चित दिने तोकेको हो।
मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माले आइतबार एक सूचना प्रकाशित गर्दै थाहानगर,इन्द्रेसरोबर,राक्सिराङ,बैकया मकवानपुरगढी र भिमफेदी गाउँपालिकाका नागरिकले नयाँ र प्रतिलिपि नागरिकता लिनका लागि आइतबार,सोमबार र मंगलबार तोकिएको र हेटौंडा उपमहानगरपालिका,बागमती र कैलाश गाउँपालिकालाई बुधबार,बिहीबार र शुक्रबार तोकिएको उल्लेख गरिएको छ। नागरिकता बाहेक अन्य कार्यका लागि सबै स्थानीय तहलाई निश्चित दिन नतोकिएको सहायक प्रजिअ शर्माले जनाएका छन।









