मनहरी । प्रहरिमाथी अभद्र व्यवहार गरेको भन्दै पक्राउ गरिएका राक्सिराङ गाउँपालिका वडा नं १ का अध्यक्ष कान्छाराम रुम्बा नगद धरौटी बुझाएर तारेखमा रिहा भएका छन् । आइतबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले रुम्बालाई ३ हजार धरौटी बुझाएर रिहा गर्न आदेश दिएको राक्सिराङ गाउपालिकाका प्रवक्ता रामकृष्ण प्रजाले जानकारी दिनुभयो । उहाँका अनुसार रुम्बालाई चैत्र ९ गते तारेखमा उपस्थित हुन आदेश दिइएको छ ।
रिहाइपछि रुम्बालाई स्वागत गर्न गाउपालिकाका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिमडुङ, गाउपालिकाका प्रवक्ता तथा वडा नं ८ का अध्यक्ष रामकृष्ण चेपाङ, नेपाली कांग्रेस गाउपालिका सभापति बिरेन्द्र जिम्बालगायत नेता कार्यकर्ता हरु पुगेका थिए ।
रुम्बालाई शुक्रबार राती प्रहरिले नियन्त्रणमा लिइ अभद्र व्यवहारको मुद्दा दर्ता गरेको थियो । शुक्रबार राती गाँजा अपरेशन भन्दै राक्सिराङ १ को घ्याङसिङटार क्षेत्र पुगेका प्रहरि र स्थानीय बीच झडपको स्थिति बनेको थियो । सोहि क्रममा घटनास्थल पुगेका अध्यक्ष रुम्बालाई प्रहरि माथि अभद्र व्यवहार गरेको भन्दै नियन्त्रणमा लिइएको थियो । सो घटना संविधानको मर्म र भावना विपरित रहेको भन्दै राक्सिराङ गाउपालिकाले बिरोध जनाएको थियो ।








