हेटौंडा । मनहरी गाउँपालिका–४ मसिनेस्थित पशुपतिनाथ माविले विद्यालय नर्सलाई स्वागत गरेको छ । प्रदेश सरकारको एक विद्यालय एक नर्स कार्यक्रम अन्र्तगत पशुपतिनाथ माविमा हाजिर भएकी विद्यालय नर्स गायत्री मोक्तानलाई विद्यालय व्यवस्थापन समितिले स्वागत गरेको हो । मनहरी–४ का वडाध्यक्ष ध्रुब खड्काले विद्यालय नर्स मोक्तानलाई दोसल्ला ओढाएर विद्यालयमा स्वागत गरेका थिए ।
विव्यस अध्यक्ष माधब गौतमको सभाध्यक्षतामा भएको कार्यक्रममा विव्यस सदस्यहरु राधाकृष्ण सिंखडा, मीरा गौतम, बिष्णु बल, सीता नेपाली, शिक्षक प्रतिनिधि मनोज चौलागाईं, विद्यार्थी प्रतिनिधि सन्ध्या हमाल, दिपेश ढकाललगायतको उपस्थिति थियो । ग्रामीण क्षेत्रका विद्यालयमा स्वास्थ्य, सरसफाई, पोषण आदि कुरामा विद्यालय नर्सको उपस्थितिले क्रमशः सुधार हुने अपेक्षा विद्यालयले लिएको विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले बताए ।
५ सय ४४ बालबालिका अध्ययनरत पशुपतिनाथ माविसँगै यो बर्ष मनहरी गाउँपालिकाको राष्ट्रिय मावि सुनाचुरीमा पनि एक विद्यालय एक नर्स कार्यक्रम लागू भएको छ । गत माघ १२ गते सुनाचुरीस्थित राष्ट्रिय माविमा विद्यालय नर्स सृजना मोक्तान हाजिर भएर कार्यरत छिन् । यस्तै मनहरीको रोटरी माविमा गतबर्ष नै एक विद्यालय एक नर्स कार्यक्रम लागू भएको थियो । मनहरी गाउँपालिकामा रहेका ८ वटा सामुदायिक विद्यालयमध्य ३ वटामा विद्यालय नर्स कार्यरत छन् ।








