नवलपुर । गत वैशाख २१ गते राति १२ बजेदेखि नवलपुर जिल्लामा जारी निषेधाज्ञा लम्ब्याइएको छ । जिल्लामा कोभिड १९ को दोस्रो लहर फैलिएसँगै गत वैशाख २१ गते राति १२ बजेदिेखि जेठ ४ गते राति १२ बजेसम्म पहिलो चरणको निषेधाज्ञा जारी गरिएको थियो । निषेधाज्ञा सकिनु एक दिन अगावै आइतवार जिल्लामा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठले आगामी जेठ १४ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गर्न सिफारिस गरेको थियो ।
सोही सिफारिसलाई आधार बनाएर प्रमुख जिल्ला अधिकारी मनमाया पगेनी भट्टराइले निषेधाज्ञा जारी गर्नुभएको हो । निषेधाज्ञामा अझै पनि विवाह व्रतवन्ध गर्नमा भने रोक लगाइएको छैन । बढीमा १० जनासम्मको उपस्थितीमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी विवाह व्रतवन्ध गर्न भने छुट दिइएको छ । त्यस्तै वैक तथा वित्तिय संस्थाहरुमा भने कडाई गरिएको छ ।
अवदेखि हप्तामा दुई दिन विहान १० बजेदेखि १२ बजेसम्म मात्रै संचालनको अनुमति दिइएको छ । तरकारी फलफूल, दुध तथा दुधजन्य र खाद्यन्नका पसल हरेक दिन विहान ६ बजेदेखि ९ बजेसम्म दिनको ३ घण्टा मात्रै खोल्न पाइने ,औषधि पसल व्यवसाय वाहेक अन्य सवै बन्द हुने निषेधाज्ञामा भनिएको छ ।
त्यस्तै कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले मध्यविन्दु जिल्ला अस्पतालमा रहेको अक्सिजन प्लान्टको क्षमता वृद्धिकालागि पहल गर्ने र त्यसका लागि जिल्लाका स्थानीय तह, संघ ,संस्थाको पहलमा लागत उठाउने तथा रोटरी इन्टरनेशनलको समेत लागत सहभागितामा अक्सिजन प्लान्टको क्षमता विस्तार गर्ने निर्णय भएको छ।
त्यस्तै जिल्लामा आफूखुशी अक्सिजन लगायत सहयोग संकलन गर्न र वितरण तथा हस्तान्तरण गर्न नपाइने नियम बनाइएको छ । अबवाट एकद्धारा प्रणालीमार्फत नै त्यस्ता सामाग्री हस्तान्तरण गर्नुपर्ने गरी नियम बनाइएको प्रमुख जिल्ला अधिकारी मनमाया पगेनी भट्टराईले जानकारी दिनुभयो ।










