कावासोती । विपद्मा सहयोगका कार्यक्रमलाई निरन्तरता दिँदै आएको चौधरी उद्योग ग्रामले नवलपुरमा अक्सिजनसहितको सिलिन्डर सहयोग गरेको छ । आज (बुधबार) चौधरी उद्योग ग्रामले ४० वटा अक्सिजन सिलिन्डर रिफिल गरि जिल्ला प्रहरी कार्यालयलाई हस्तान्तरण गरेको हो । जिल्ला प्रशासन कार्यालय नवलपुरको एकद्वार नीति अनुसार, सीजि इन्ड्रिष्ट्रयल पार्क, देवचुली २, दुम्कौलि (चौधरी उद्योग ग्राम) बाट सो सहायता गरिएको सिजिआइपिका प्रबन्धक तथा सिएसआर प्रमुख रामचन्द्र धितालले जानकारी दिनुभयो ।
यस्तो सहयोगको लागि प्रमुख जिल्ला अधिकारी मनमाया पंगेनी भट्टराईले धन्यबाद ज्ञापन गर्नुभयो । उहाँले सबैको सहयोगले नै कोभिडविरुद्ध लड्न सहज हुने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय नवलपुर प्रमुख प्रकाश मल्लले चौधरी उद्योग ग्रामलाई सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो ।
त्यस्तै विपद्को बेला समाजसँग सधैं सहकार्य गर्न सिजिआइपि तयार रहेको सिएसआर प्रमुख रामचन्द्र धितालले बताउनुभयो ।उहाँले यसअघि आईतबार र सोमबार गरि मध्यविन्दु जिल्ला अस्पतालमा ६५ वटा अक्सिजन सिलिन्डर रिफिल गरि सहयोग गरेको बताउनुभयो । उहाँले जिल्लामा मात्रै हालसम्म १०५ अक्सिजन सिलिन्डर रिफिल गरि सहयोग गरिएको जानकारी दिनुभयो । सिजिले आगामी दिनमा आवश्यकता हेरि सहयोग कार्यक्रमलाई निरन्तरता दिने उहाँले बताउनुभयो ।








