नवलपुर । नवलपुरमा वैशाखदेखि हालसम्म ३६ दिनमा ३० जना काेरोना सङ्क्रमितको मृत्यु भएको छ । कोभिड १९ को संक्रमणबाट नवलपुरमा अहिलेसम्म ६२ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ । बुधबार मात्रै नवलपुरमा ५ जनाको मृत्यु भएको छ ।
जिल्लामा सबै भन्दा बढी कावासोती नगरपालिकामा मृत्यु भएको छ । वैशाख १ गतेदेखि यताको तथ्याङ्कमा कावासोती नगरपालिकाको मृत्यु सङ्ख्या बढिरहेको छ । कावासोतीमा १२ जनाको मृत्यु भएको छ । गैँडाकोटमा ६ जनाको मृत्यु भएको छ ।
देवचुली र मध्यविन्दुमा ४/४ जनाको मृत्यु भएको छ । विनयी त्रिवेणीमा ३ जनाको मृत्यु भएको छ । हुप्सेकोट, बुलिङटार र बौदिकालीमा अहिलेसम्म कुनै पनि सङ्क्रमितको मृत्यु भएको छैन । जिल्लामा हाल एक हजार एक सय १५ जना सक्रिय सङ्क्रमित रहेका छन् । ७९३ जना कोरोना मुक्त भएका छन् ।








