काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले पार्टीका पूर्वप्रमुखसमेत रहेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहित ११ जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो सोमबार बसेको पार्टी स्थायी कमिटी बैठकले पार्टी हितविपरीत अनुशासनहीन कार्य गरेको ठहर गर्दै उनीहरूलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो ।
परराष्ट्रमन्त्रीसमेत रहेका एमाले प्रवक्ता प्रदीप ज्ञवालीले नेपाल–खनाललगायतका नेताले अनुशासनहीन, अराजक, अनैतिक र अलोकतान्त्रिक चरित्र अपनाएर पार्टी हितमा गम्भीर अपराध गरेकाले कारबाही गरिएको जानकारी दिए । ज्ञवालीले आफ्नै पार्टी अध्यक्ष, दलका नेता र प्रधानमन्त्रीलाई पदबाट हटाउन विपक्षी पार्टीसँग मिली विपक्षी दलका नेतालाई प्रधानमन्त्री निर्वाचित गराउन हस्ताक्षरसहित समर्थन गर्नेजस्तो अपराधपूर्ण र अलोकतान्त्रिक कार्य गरेकाले उनीहरूलाई पार्टीको सदस्यसमेत नरहने गरी कारबाही गरिएको बताए ।
पार्टीबाट निष्कासन हुनेमा नेपाल, खनालसहित नेताहरू भीमवहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणीकुमारी खडका, सरलाकुमारी यादव, पुष्पाकुमारी कर्ण कायस्थ, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु र कलिला खातुन रहेका छन् ।
उनीहरूलाई पार्टीको साधारण सदस्य तथा पार्टीको तर्फबाट जनप्रतिनिधित्व, कार्यकर्ताको प्रतिनिधित्व, विभिन्नि संघसंस्था वा संगठनका कुनै पद, ओहदा वा प्रतिनिधित्वमा रहेको भए सोसमेत नरहने गरी कारबाही गरिएको प्रवक्ता ज्ञवालीले बताए । यो समाचार आजको राजधानी दैनिकमा छ ।








