गैंडाकोट । ईनरह्विल क्लव अफ नारायणीले गैंडाकोट र इच्छाकामनाको अस्पताललाई दुईवटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको छ । क्लबले आज(बुधबार) गैंडाकोट नगर अस्पताल र ईच्छाकामना गाउँपालिकाको अस्पताललाई १÷१ वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको हो ।
विपतको समयमा संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने उद्धेश्यले अक्सिजन हस्तान्तर गरिएको क्लबले जानकारी दिएको छ । हस्तान्तरणपछि बोल्दै क्लबका अध्यक्ष प्रमिला रानाभाट कोरोना कहरको बेला विकट ठाउँका नागरिकलाई स्वास्थ्य सुरक्षाको पहुंँच पुरयाउन मदत पुगोस भन्ने हेतुले कन्सन्ट्रेटर हस्तान्तरण गरिएको बताउनु भयो ।
यसअघिपनि क्लबले सामाजिक काम गर्दै आएको बताउंँदै अध्यक्ष रानाभाटले आगामी दिनमा पनि सहयोग गर्दै जाने बताउनु भयो । उहांँका अनुसार जर्मनबाट मगाईएको उक्त कन्सन्ट्रेटरको मुल्य २ लाख २० हजार रहेको छ । कार्यक्रममा अस्पतालका प्रमुख व्यक्ति, संस्थाका सदस्यहरु लगायतको सहभागिता रहेको थियो ।
ईच्छाकामना गाउँपालिकाको अस्पतालका लागि छुट्टाईएको अक्सिजन कन्सनटेटर उपाध्यक्ष कृतिकुमार श्रेष्ठ र गैंडाकोट नगर अस्पतालका लागि छुट्टाईएको अक्सिजन कन्सनटेटर अस्पताल प्रमुख ईन्द्रराज शर्मालाई हस्तान्तरण गरिएको हो ।









