चितवन । कारागार कार्यालय भरतपुर चितवनबाट १४ जना कैदीबन्दी रिहा भएका छन् । गणतन्त्र दिवसको अवसरमा उनीहरु रिहा भएको कारागार कार्यालय भरतपुरका प्रमुख जेलर कमल काफ्लेले जानकारी दिए । आम माफी पाउनेमा सवारी ज्यानका ८ जना, कर्तव्य ज्यानका १, ज्यानमार्ने उद्योगका ३, लापार्वाही ज्यानका १ र चोरीका १ जना कैदीबन्दी रहेका काफ्लेकाे भनाइ छ ।
रिहा हुनेहरुमा चितवन, नवलपरासी, रुपन्देही, पर्सा, दाङ लगायत जिल्लाका छन् । व्यवहारमा सुधार आएका र कानुनले छुट दिएको मुद्दामा जेल परेकाहरुलाई मात्रै सिफारिस गर्ने गरिन्छ । कारागार कार्यालय भरतपुरमा जबरजस्ती करणीका १७४ जना, लागुऔषधका १४७ जना गैँडा खाग तस्करीका ६७ जना लगायत कैदीबन्दी रहेका छन् । यी मुद्दाका कैदीबन्दीलाई रिहाको लागि सिफारिस गर्न प्रतिबन्ध रहेको काफ्लेले बताए ।
यसरी रिहा भएकामध्ये चोरी मुद्दामा छुटेकाहरु पुनः चोरीमा लाग्ने गरेको र जेलमै पर्ने गरेको भएपनि अन्य मुद्दाका भने त्यस्तो गल्ती दोहोर्याएको आफूले नपाएको काफ्लेले बताए । एक पटक रिहा हुने अवसर पाएकाहरु पुन जेल परे यो सुविधा नपाउने उनको भनाई छ ।








