चितवन । चितवनको रत्ननगर ५ स्थित जनकौली सामुदायीक वनमा आज (सोमबार) एक महिलाको ज्यान लिने बाघलाई नियन्त्रणमा लिइएको छ । चितवन राष्ट्रिय निकुञ्जको पुर्वी सेक्टर सौराहाको टोलीले उक्त बाघलाई नियन्त्रणमा लिएको हो । आज दिउँसो एक महिलाको ज्यान लिएको बाघलाई साँझ करिब ५ बजे डार्ट गरेर नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिए ।
डार्ट गरिएका उक्त बाघलाई निकुञ्जको हेडक्वाटर कसरामा रहेको खोरमा राखिनेछ । आज दिउँसो १२ः३० बजे जनकौली सामुदायीक वनमा निउरो टिप्न गएकी स्थानीय ३५ वर्षीया गीता श्रेष्ठको बाघको आक्रमणबाट मृत्यु भएको थियो । साथीहरुसँग निउरो टिप्न गएकी गीतालाई बाघले एक्कासी आक्रमण गरेको थियो । अन्य तीन जना भने भाग्न सफल भएका थिए ।
मृत्यु श्रेष्ठको शव लामो समयसम्म बाघको नियन्त्रणमा थियो । मृतकको शव जङ्गलबाट निकाल्न चितवन राष्ट्रिय निकुञ्ज प्रशासनले ढिलासुस्ती गरेको भन्दै स्थानीयले सौराहा क्षेत्रमा आन्दोलन समेत गरेका थिए ।








