काठमाडौँ । महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन् । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त विपक्षी गठवन्धनका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश जारी गरेसँगै बडालले राजीनामा दिएका हुन् ।
बडालले मंगलबार प्रधानमन्त्रीमार्फत राष्ट्रपतिसमक्ष राजीनामा पत्र बुझाएका छन्। बडालले भने, “मैले पदबाट राजीनामा दिएँ, प्रधानमन्त्रीलाई मैले राजीनामा बुझाएँ ।” आजै अपरान्ह महान्यायाधिवक्ता कार्यालयमा उनको बिदाई कार्यक्रम राखिएको छ ।
अग्नी खरेलले राजीनामा दिएपछि बडाल चैत ८ गते महान्यायाधिवक्तामा नियुक्त भएका थिए । सरकारको कानूनी सल्लाहकारका रुपमा उनले तीन महिना २१ दिन काम गरेका छन् ।








