चितवन । भरतपुर महानगरपालिका वडा न १५ गोपालगञ्जमा रहेको श्री आधारभुत विद्यालयलाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । भरतपुर ११ मा रहेको एस एण्ड पि अडिटिङ कम्पनीले विद्यालयलाई शैक्षिक सामाग्री सहयोग गरेको हो । आज (शनिबार) एस एण्ड पि कम्पनीले आफ्नै कार्यालयमा कार्यक्रम आयोजना गरेर विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि झोला सहयोग गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि भरतपुर १५ का वडाध्यक्ष शम्भुबहादुर भण्डारी र कम्पनीका सञ्चालक सूर्यप्रसाद श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद दवाडी, प्रधानाध्याप्क चिरञ्जीवी नेपाललाई उक्त सामाग्री हस्तारन्तरण गरे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि भण्डारीले समाजका सचेत नागरिकहरुले आफ्ना बालबच्चालाई सामुदायीक विद्यालय नपठाउदा वर्षेनी सामुदायीक विद्यालयको गुणस्तर खस्किदै गएको बताए ।
उनले सुकुम्बासी, मजदुर तथा निम्नवर्गका विद्यार्थी मात्र सामुदायीक विद्यालय जाने र अभिभावकले आफ्ना बालबच्चाको शैक्षिक गतिविधि बारे चासो नदिँदा गुणस्तर खस्किएको बताए । सामुदायीक विद्यालयलाई निम्नवर्गका विद्यार्थी मात्र अध्ययन गर्ने विद्यालय नभई सचेत तथा सम्पन्न वर्गका विद्यार्थीहरु पनि अध्ययन गर्ने विद्यालयको रुपमा बिकास गर्दै लैजानु पर्नेमा उनले जोड दिए । यस्तै उनले उक्त विद्यालयमा होस्टल निर्माणका लागि पहल गर्ने प्रतिवद्धता पनि जनाए । उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष ई भोजराज कौडालले गुणस्तरीय शिक्षा दिन सके सामुदायीक विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढ्ने बताए ।
सामुदायीक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन शिक्षकहरुले अभिभावकको मन जित्न पनि जरुरी रहेको उनको भनाइ थियो । यस्तै उनले विद्यालयको गुणस्तर वृद्धिका लागि आवश्यक सहयोग व्यवस्थापनको पहल गर्न आफु तयार रहेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दवाडीले सहयोगका लागि एस एण्ड पि अडिटिङ कम्पनीलाई धन्यवाद दिए । उनले यसरी नै आवश्यक शैक्षिक सामाग्री सहयोग प्राप्त हुँदै गए विद्यालयलाई गुणस्तरीय बनाउन हौसला मिल्ने बताए ।
विद्यालयप्रति अभिभावक र विद्यार्थीको आकर्षण बढाउन छिट्टै बिभिन्न कार्यक्रम गरिने उनको भनाइ थियो । प्रधानाध्यापक नेपालले विद्यालयलाई यस्तै किसिमको सहयोग आवश्यक रहेको बताए । उनले सबैले पक्षले सहयोगी भूमिका खेले सामुदायीक विद्यालयप्रतिको आकर्षण बढाउन सकिने बताए । कम्पनीका सञ्चालक श्रेष्ठले आफ्नो व्यवसायबाट भएको कमाईको केही हिस्सा यसरी नै शैक्षिक क्षेत्रमा सहयोग गर्दै जाने बताए । उनले बालबालिकाको उज्वल भविष्यका लागि आगामी दिनमा पनि यसरी नै सहयोग गर्ने प्रतिवद्धता जनाए ।
यस्तै उनले श्री आधारभुत विद्यालयलाई छिट्टै थप अन्य शैक्षिक सामाग्री पनि सहयोग गर्ने बताए । २०२८ सालमा स्थापना भएको विद्यालयमा अहिले कक्षा ३ सम्म मात्र अध्यापन हुँदै आएको छ । विद्यालयमा अहिले ६७ जना बालबालिका अध्ययनरत छन् ।








