हेटौंडा । मकवानपुरको बकैयामा गाई काटेको अभियोगमा पक्राउ परेका ९ जनालाई धरौटी माग गर्दै रिहा गर्न आदेश दिइएको छ। सोमबार जिल्ला अदालत मकवानपुरका न्यायाधीश कमलराज विष्टको एकल इजालशले पक्राउ परेका १० जनामा ९ जनालाई जनही ४० हजार धरौटि छोड्न आदेश दिएको जिल्ला अदालत मकवानपुरका श्रेस्तेदार तीर्थराज भट्टराईले बताएका छन।
पक्राउ १० जना मध्ये एक जना बालक रहेकोले यस अघिनै अविभावकको जिम्मा लगाईएको भट्टराईले जानकारी दिएका छन। मकवानपुरको बकैया-११ स्वबिमाबाट असोज ३ गते ५० केजी गाईको मासु सहित १० जनालाई पक्राउ गरेको थियो । गाई काटेको अभियोगमा बकैया-११ कालिदमार बस्ने ३५ वर्षीय राज लो,४० वर्षीय रबिन्द्र लो,३८ वर्षीय जनक बहादुर लो,सोही वडा सिमाटार बस्ने ४५ वर्षीय राज कुमार घलान,४८ वर्षीय प्रलाद भक्त न्यासुर,च्याउ च्याउ बस्ने ५० वर्षीया सन्च माया भोलन,१६ वर्षीय सन्देश बिक,१९ वर्षीय सोमार भोलन, ३६ वर्षीय फुल माया थिङ र ४० वर्षीय सुन बहादुर तामाङलाई पक्राउ गरिएको थियो।
पक्राउ परेका मध्ये १६ बर्षीय सन्देश विकलाई बालक भएको भन्दै अभिभावकको जिम्मा लगाएको थियो।पक्राउ परेकालाई मकवानपुर प्रहरीले गौवधसम्बन्धी मुद्दा चलाएर अनुसन्धान गरेको थियो।








