हेटौंडा । मकवानपुर प्रहरीले यात्रुहरुसंग तोकिएको भन्दा बढी रकम लिएको भन्दै हेटौंडाका दुई जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार यात्रुहरुसंग तोकिएको भाडा दर भन्दा बढी रकम लिने ना ४ ख ९३११ नंबर को यात्रुवाहक बसलाई नियन्त्रणमा लिई बढी भाडा फिर्ता गरी उक्त बसलाई गन्तब्य तर्फ छाडिएको र बढी भाडा उठाउने दुई जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
प्रहरीले बढी भाडा उठाउने हेटौंडा उपमहानगरपािलका वडा नंबर १ बस्ने २६ वर्षीय रविन सुबेदी र सोही वडाका ३४ वर्षीय सुधेस परियारलाई नियन्त्रणमा लिएको छ । उनिहरुलाई हेटौंडा २ को संगमचोकबाट नियन्त्रणमा लिईएको कार्यलयका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले बताए । उनिहरुमाथि आवश्यक कारबाही भईरहेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
यसअघि असोज ३१ गते प्रहरीले जिल्लामा बढी भाडा उठाउने ५ वटा सुमोलाई नियन्त्रणमा लिएर कारबाही गरेको थियो । हरेक वर्ष सुमो व्यवसायीहरुले विशेष गरि दशैं र तिहारमा मनोमानि ढङ्गले अत्याधिक भाडदर वृद्धि गरेर यात्रुहरुलाई ठग्ने काम गर्दै आएका छन् । यसवर्ष पनि सुमो व्यवसायीले आफ्नै मनोमानि ढङ्गले भाडादर दोब्बर गर्दै यात्रुहरुलाई ठगिरहेको छ ।
सुमो व्यवसायीहरुले सुमोको कृतिम अभाव सृजना गर्दै यात्रुहरुलाई ठग्ने गरेका छन् । प्रशासनले प्रभावकारी चेकजाँच नगर्दा हेटौंडा-भीमफेदी-कुलेखानी हुँदै काठमाण्डौ चल्ने सुमोबाट यात्रुहरु ठगिनु परेको हो ।








